बुधबार, वैशाख १२, २०८१

गण्डकी प्रदेशको दुई बर्ष : ३० उपलब्धी सार्वजनिक

नेपालखोज २०७६ फागुन ४ गते १६:५२

कास्की । गण्डकी प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको छ । २०७४ फागुन ४ मा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकको मितिलाई स्थापना दिवस मानेको प्रदेश सरकारले आज प्रदेशको स्थापना दिवस मनाएको छ ।

तर, २ वर्षभित्र उज्यालो प्रदेश बनाउने तथा हरेक घरमा आधारभूत खानेपानी पुर्‍याउने निर्णय गरेको सरकारका योजना भने अधुरा नै छन् ।

गण्डकी प्रदेश सरकार गठन भएको आइतबार दुई वर्ष पूरा भएको छ । सरकार स्थापनाको दुई वर्ष पुगेको अवसरमा सरकारले तामझामका साथ दोस्रो वार्षिकोत्सव पनि मनाएको छ ।

मन्त्रिपरिषदको पहिलो बैठकबाट छिट्टै गण्डकी विश्वविद्यालय सञ्चालन गर्ने, वार्षिक ५० हजारलाई रोजगारी दिने, बहुसांस्कृतिक ग्राम स्थापना गर्ने, एक स्थानीय तह एक उद्योग ग्राम निर्माण गर्ने, अस्पताल र खेलमैदानको संख्या बढाउने, युवा लक्षित चुनौति कोष स्थापना गर्ने, मनाङ, मुस्ताङ र गोरखाको चुमनुव्रिलाई अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङ केन्द्रको रुपमा विकास गर्ने योजना सार्वजनिक गरेको थियो ।

तर, दोस्रो वार्षिकोत्समव मनाउँदै गर्दा तीमध्ये कतिपय योजना अहिलेसम्म शुरु हुनै सकेका छैनन् भने कुनैले पनि पूर्णता पाउन सकेनन् । यी सबै काम पुरा नहुँनुमा प्रदेश सरकारले भने आफ्नो असफलता भन्दा कानून र संघीय सरकारको कमजोरी भन्दै संघीय सरकारतर्फ औला ठड्याएको छ ।

जग्गा प्राप्तिमा समस्या, कर्मचारी अभाव, आवश्यक कानुन अभावमा काम अघि बढ्न नसकेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाई छ ।

मुख्यमन्त्री गुरुङले उज्यालो प्रदेश, खानेपानी, विश्वविद्यालय स्थापनालगायत थुप्रै योजनाको कामले गति लिईरहेको दावी गरेका छन् । संघीय कानून बन्न ढिलाइ हुँदा प्रदेशले कानून बनाएर काम गर्न समेत नपाएको मुख्यमन्त्रीको गुनासो छ ।

मुख्यमन्त्री गुरुङका अनुसार गण्डकी विश्वविद्यालयका लागि कानून बनिसकेको भएपनि आवश्यक जग्गा नपाउँदा सञ्चालनमा समस्या भएको छ  । सरकारले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भनेकोमा बल्ल प्रदेशसभामा प्रतिष्ठान विधेयक लगिएको छ । सरकारको दुई वर्ष पूरा हुँदा फिल्म सुटिङ केन्द्रको चर्चा नै हराएको छ ।

मुख्यमन्त्री गुरुङले भने पहिलो नीति तथा कार्यक्रममा समेटिएको सुटिङ केन्द्र दोस्रोमा प्राथमिकतामा नपरेको बताएका छन् । जग्गामा प्रदेशको स्वामित्व वा भोगाधिकार प्राप्त नहुँदा धेरै कुरा रोकिएको मुख्यमन्त्री गुरुङको अर्को गुनासो छ ।

प्रमुख प्रतिपक्षी दलले भने प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रमले जनअपेक्षा बढाएपनि २ वर्षको अवधिमा नागरिकले महसुस गर्नेगरी काम गर्न नसकेको बताएको छ ।

संघीयताले प्रदेश सरकारलाई स्वायत्त र बलियो भूमिका दिएपनि प्रदेश सरकार संघीय सरकारको एउटा निकाय जस्तो बन्दा यस्तो समस्या आएको प्रतिपक्षी कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बताए ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेश सरकार २ वर्ष पूरा गरेकोमा शुभकामना व्यक्तगर्दै नेपालकै उत्कृष्ट प्रदेश बन्ने हिसावले काम गर्न सुझाव दिएका छन् । आफू कार्यकारी नभएर सेरेमोनियल हैसियतमा भएको भन्दै धेरै बोल्न र आश्वासन दिन आवश्यक नभएको शेरचनको भनाई छ ।

सरकारले भने आफूले दुई वर्षमा गरेका ३० उपलव्धी सार्वजनिक गरेको छ । प्रदेशको नामकरण र राजधानी तोक्ने कामलाई पहिलो उपलब्धि बनाएको सरकारले प्रदेश सरकारका १ सय ५४ निकाय र कार्यालय स्थापना, ३२ कानून निर्माण, ६ नियमावली र २ गठन आदेश स्वीकृतलाई प्रमुख उपलब्धी मानेको छ ।

प्रतिक्रिया