मंगलबार, असार ३, २०८२

विद्युतका तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री

नेपालखोज २०७६ फागुन ५ गते १२:४२

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हन् ।

पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, “यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।” विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने पीर परेको बताए । उनले भने, “सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?” उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे। प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।

प्रतिक्रिया