शनिबार, असार ३०, २०८१

महरा प्रकरण : बलात्कार उद्योगको मुद्दामा जिल्ला अदालतले दियो सफाइ

नेपालखोज २०७६ फागुन ५ गते १४:४५

काठमाडौँ । बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको हो ।

जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्। पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

सफाइ पाएसंगै महराकाे सांसद पदकाे निलम्बन फुकुवा हुने छ ।

प्रतिक्रिया