पर्याप्त भिजिबिलिटी नहुँदा आन्तरिक उडानमा ढिलाइ
काठमाडौँ । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा ढिलाई भएको छ । विमानस्थलकी डोमेस्टिक कक्षमा कार्यरत एक कर्मचारीले पर्याप्त भिजिबिलिटी नहुँदा बिहानका प्रायःजसो आन्तरिक उडान डिले भएको जानकारी दिइन् ।
ती कर्मचारीका अनुसार बिहान दुई उडान मात्रै भएका छन् । उडान हुन नसक्दा गन्तव्यमा हिँडेका यात्रु विमानस्थलमै रोकिएका छन् । ‘मौसम खुल्नेबित्तिकै उडान हुन्छ,’ ती कर्मचारीले भनिन् । विमानस्थलबाट देशका विभिन्न ठाउँमा दैनिक एक सय १८ उडान हुने गरेका छन् ।
अन्तर्राष्ट्रिय उडान–अवतरण भने सुचारु भइरहेको ती कर्मचारीले बताएकी छन् । ‘अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई कम भिजिबिलिटी भए पनि पुग्छ,’ उनले भनिन्।
राजधानीमा लागेको तुवाँलोको कारण पर्याप्त भिजिबिलिटी नभएको बताइएको छ । पश्चिमी वायुका कारण केही दिनयता राजधानीसँगै देशका विभिन्न स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तुवाँलोको शुक्रबारसम्म रहने विभागको भनाइ छ ।
प्रतिक्रिया