शनिबार, वैशाख १३, २०८२

सेनाको छुट्टै गुप्तचर निकाय गठन गर्न संसदमा विधेयक प्रस्तुत

नेपालखोज २०७६ फागुन ६ गते १७:४५

काठमाण्डौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रालयको तर्फबाट प्रतिनिधिसभामा सैनिक ऐन संशोधन विधेयक २०७६ पेश गरेका छन् ।

बदलिँदो र परिवर्तित परिस्थिति तथा भावी सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेनामा छुट्टै गुप्तचर निकाय आवश्यकता महसुस गरी सैनिक ऐन २०६३ लाई संशोधन गरेर सेनामा छुट्टै गुप्तचर सेवा गठन गर्न लागिएको मन्त्री पोखरेलेको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभामा सैनिक ऐन पहिलो संशोधन विधेयक २०७६ पेश गर्दै रक्षामन्त्री पोखरेलले भने, ‘शान्ति, द्वन्द्व र युद्धकालीन अवस्थामा नेपाली सेनाले आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गबाट बहन गर्न र परिवर्तित परिस्थिति तथा भावी सुरक्षा चुनौतीको प्रभावकारी रुपमा सामना गर्न सैनिक इन्टेलिजेन्स ९गुप्तचर० लाई समयसापेक्ष आधुकिनीकरण गरी थप प्रभावकारी बनाउन आवश्यक भएको छ ।’

हाल प्रचलनमा रहेको सैनिक ऐन २०६३ मा सैनिक इन्टेलिजेन्स सेवा गठन र सञ्चालन सम्बन्धमा नियमावली बनाउन सक्ने स्पष्ट ब्यवस्था नरहेकाले ऐन संशोधन गर्न लागेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

नेपाली सेनालाई संविधान र कानुनले दिएको जिम्मेवारी प्रभावकारी रुपमा पूरा गर्न सैनिक इन्टेलिजेन्ससम्बन्धी हाल भइरहेको कामलाई ब्यवस्थित र थप प्रभावकारी बनाउन सैनिक इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धमा समेत एक छुट्टै नियमावली तर्जुमा गरी कार्यान्वयन गर्न सैनिक ऐन २०६३ मा संशोधन गर्न लागेको उनको भनाइ छ ।

प्रतिक्रिया