बिहीबार, असोज ३, २०८१

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

नेपालखोज २०७६ फागुन ८ गते ८:५६

पर्वत । जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच सो सेवा सञ्चालन सम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो ।

मानसिक रोगको विशेषज्ञ सेवासहितको उपचार सेवा बुधबारदेखि शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. शिशिर देवकोटा, अस्पतालका अध्यक्ष पहाडी, कलेजका प्राचार्य प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ र प्राडा टुमाया घलेले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार जिल्ला अस्पतालमा सो रोग उपचार गर्न सो कलेजको तर्फबाट एक जना विशेषज्ञ प्रत्येक महिनाको १० गते, २० गते र महिनाको अन्तिम दिन आउनेछन् । दर्ता शुल्कका लागि रु २० शुल्क राखिएको छ ।

जिल्लामा मानसिक रोगका बिरामी बढ्दै जान थालेपछि अस्तालले सेवा विस्तार गरेको अध्यक्ष पहाडीले जानकारी दिए । कलेजका प्राचार्य प्राडा श्रेष्ठले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राथमिता दिएको जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले मानसिक रोग एक पटक उपचार गरेर मात्र निको नहुने रोग भएका कारण निरन्तर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

प्रतिक्रिया