बिहीबार, चैत १५, २०८०

बाँस्कोटा प्रकरण : ओली र दाहाल छलफलमा, बाँस्कोटा कञ्चनपुरमा, के निर्णय लेला बालुवाटारले ?

नेपालखोज २०७६ फागुन ८ गते १२:५०

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब बढेको छ । मन्त्रीको भुस बार्गेनिङको अडियो सार्वजनिक भएपछि नेकपाकै नेताहरुले प्रधानमन्त्रीलाई यस्तो दबाब दिएका हुन्। स्रोतका अनुसार नेकपाका शीर्ष नेताहरुले मन्त्री बाँस्कोटालाई हटाउन सुझाएको बताएको छ ।

बिहीबार बिहानदेखि नै प्रधानमन्त्री ओलीलाई फोनबाट र भेटेर उनलाई बर्खास्त गर्न नेताहरूले सुझाएका हुन्। उनले घुस मागेको अडियोमा प्रष्ट सुनिएकाले तत्काल बर्खास्त गरी थप अनुसन्धान गर्नसमेत केही नेताले माग गरेको बुझिएको छ।

यही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त विषयलाई लिएर नेकपा नेताहरुबीच छलफल भइरहेको पुष्टि गरे। तर अहिलेसम्म खास निर्णय भएको छैन । मन्त्री बाँस्कोटा अहिले कञ्चनपुरमा भएकाले उनका कुरा सुनेर बाँकी निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताइएको छ । थापाले भने, ‘मन्त्री बाँस्कोटा अहिले कञ्चनपुरमा हुनुहुन्छ। उहाँले आफ्नो कुरा राख्नुहुन्छ । त्यसपछि अरु छलफल होला।’

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुस मागेको अडियो बुधबार अनलाइन समाचार पोर्टल हाम्रा कुराबाट पहिलो पटक सार्वजनिक भएको थियो ।

प्रतिक्रिया