बिहीबार, वैशाख १३, २०८१

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटासँग कमिसनको कुरा गर्ने मिश्रलाई कारबाही गर्न प्रहरीलाई लेखा समितिको पत्राचार

नेपालखोज २०७६ फागुन ८ गते १८:०३

काठमाण्डौ । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुराकानी गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रतिनिधि सभा लेखन समितिले प्रहरीलाई पत्राचार गरेको छ।

मिश्रले लेखा समितिले जर्मनीको कम्पनीलाई ठेक्का दिनेगरी समितिका सदस्यहरूले सेटिङ गरेको दाबी गरेका थिए।

‘आज हामीले यो अडिओ बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो। लेखा समितिका मान्छेहरूले पनि कमिसन खाने गरी सेटिङ गरिसकेका थिए। त्यसकारण हामीले उक्त अडिओ बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौं,’ उनले भनेका छन्।

मिश्रले गरेको टिप्पणीबारे लेखा समितिका सांसदहरूले आपत्ति जनाएका थिए।

कांग्रेस सांसद मिनेन्द्र रिजाल, नेकपाका सूर्य पाठक र समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले मिश्रलाई कारबाहीको माग गरेका थिए।

नोट, पासपोर्ट र राजस्व स्टिकर लगायतका महत्वपूर्ण कागजपत्र छपाइका लागि आवश्यक सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको थियो।

सरकारले जर्मनी, फ्रान्स र स्वीस कम्पनीसँग सेक्युरिटी प्रेस खरिदबारे छलफल गरे पनि अन्तिममा जर्मनी र फ्रान्सबारे प्रस्ताव अगाडि बढाउने तयारी गरेको थियो।

मिश्र सेक्युरिटी प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्ट समेत हुन्।

मिश्रलाई यसअघि लेखा समितिले नै सेक्युरिटी प्रेसको विषयमा विज्ञका रूपमा डाकेर छलफल गरेको थियो।

प्रतिक्रिया