बालुवाटार जग्गा विक्री प्रकरण : ३४ प्रतिवादीलाई अदालतमा उपस्थित हुन म्याद
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ३४ जनालाई अदालतमा उपस्थितिका लागि म्याद जारी गरेको छ । सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा प्रतिवादी बनाइएका १७५ मध्ये ३४ प्रतिवादीलाई उपस्थित हुन भनिएको हो ।
उपस्थितिका लागि म्याद जारी गरिएका ३४ मध्ये २४ जना कैद सजाय र जरिवाना माग दाबी गरिएका प्रतिवादी रहेका छन् । बाँकी दश जना भने सरकारलाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएकाहरु रहेका छन् । उनीहरुलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन उर्दी गरिएको विशेष अदालतका अधिकारीले जानकारी दिएका छन् ।
यसरी उपस्थितिका लागि म्याद जारी गरिएकाहरुमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकहरु पुष्पराज उपाध्याय रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य रहेका छन् । यसैगरी मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टिकाराम घिमिरे र कलाधर देउजा तथा शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतमलगायत रहेका छन् ।
बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्यितारले गत माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
११२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको सो अभियोगमा अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र उनीपछिका मन्त्री चन्द्रदेव जोशी, पूर्वसचिवत्रय दीप बस्न्यात, छवीराज पन्त र दिनेशहरि अधिकारीलगायत रहेका थिए । तीमध्ये ११० जनालाई कैद सजाय र बगो माग दाबी तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।
प्रतिक्रिया