शुक्रबार, वैशाख ७, २०८१

नेवाङ र देवकोटाद्वारा कार्यदलमा बस्न अस्वीकार

नेपालखोज २०७६ फागुन १२ गते १७:०७

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य सुवास नेवाङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटाले संविधान संशोधनका लागि पार्टीले गठन गरेको कार्यदलमा बस्न अस्वीकार गरेका छन् ।

शनिवार पार्टी सचिवालयले संविधान संशोधनका लागि पूर्व प्रधानमन्त्री एव पार्टी सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो ।

उक्त समितिले राष्ट्रिय सभाका सदस्य समेत प्रधानमन्त्री बन्न सक्ने प्रावधानसहितको संशोधन प्रस्ताव तयार गर्ने भनिएपछि नेवाङ र देवकोटाले असमति जनाउँदै समितिमै बस्न अस्वीकार गरेका हुन् ।

सोमबार विहान नेपाल निवास कोटेश्वरमा समितिको बैठक डाकिएको थियो । उक्त बैठकमा उपस्थित भएतापनि नेवाङ र देवकोटाले आफ्नो विमति जाहेर गर्दै समितिमा बस्न नसक्ने जनाउ दिएका हुन् ।

नेवाङले संविधान संशोधनजस्तो गम्भीर बिषयमा जननालाई थाहै नदिइ गोप्य राखिनु आफैमा गलत भएको तर्क गरेका छन् । उनले भने, ‘संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन। त्यसमा मेरो सहमति छैन ।’

यसैगरी देवकोटाले शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा छलफल गर्ने भनेर बोलाइएता पनि सो बारेमा छलफल नभइ बिषयलाई अन्तै मोड्न खोजिएकाले आफ्नो असहमति रहेको बताए । उनले भने,‘राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ ।’

शनिवारको सचिवालय बैठकमा राष्ट्रिय सभा सदस्यलाई समेत प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरिएपश्चात सचिवालयमा अल्पमतमा रहेका प्रधानमन्त्री ओली मौन बसेका थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समर्थन गरेका थिए ।

प्रतिक्रिया