मंगलबार, वैशाख ११, २०८१

कोराना भाइरस विरुद्धको भ्याक्सिन चिनियाँ बैज्ञानिक हुआङ जिहुआले पत्ता लगाएको दावी

नेपालखोज २०७६ फागुन १३ गते १६:३५

काठमाडौं। विश्वभर कोरोना भाइरसको त्रास र चर्चा चलिरहेका बेला एक चिनिया वैज्ञानिकले आफ्नो टिमले कोरोनाभाइरस (कोभिड १९)को भ्याक्सिन पत्ता लगाएको दावी गरेका छन् । उनको दावी यतिखेर चीनका सामाजिक संजालमा निकै चर्चामा आएको छ ।

उत्तरी चीनको तियानजिन विश्वविद्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मानव शरीरमा कोरोनाभाइरस प्रतिरोधी एन्टिबडी उत्पादन गर्न सक्षम भ्याक्सिन विकास गरिएको दावी गरेको छ।

यो भ्याक्सिन विकास गर्ने वैज्ञानिकको टिमका नेतृत्वकर्ता प्रोफेसर हुआङ जिहुआले आफैं यो भ्याक्सिनको ४ डोज लिएको र उनले कुनै किसिमको साइड इफेक्ट महसुस नगरेको बताइएको छ ।

चाईन डेलीले प्रकाशन गरेको समाचार अनुसार प्रोफेसर हुआङले अनुसन्धानको क्रममा पब्लिस्ड आरएनए (राइबोन्युक्लिक एसिड)मा आधारित रिसेप्टर फेला पारेका थिए ।

ती वैज्ञानिकले मंगलबार आफ्नो टिमले ओरल (खाने) भ्याक्सिन पत्ता लगाएको दावी गरेका हुन् । अनलाइन बहसमा यो भ्याक्सिनको प्रभावकारिताका शंका गरिएका छन् किनकि यो औषधी निकै कम समयमा तयार भएको छ र विकास गर्ने वैज्ञानिकले यसको विश्वसनीयता पुष्टि गर्न पर्याप्त प्रमाण दिइसकेका छैनन् ।

विकासकर्ता वैज्ञानिक प्रोफेसर हुआङले चिनियाँ सञ्चार माध्यमसँग कुरा गर्दै ‘यो भ्याक्सिन सफलतापूर्वक विकास भएको भए पनि क्लिनिकल ट्रायल पार गर्न बाँकी रहेको’ बताएका छन् । उनका अनुसार उनले पहिले जनावरका लागि यो भाइरसविरुद्धको भ्याक्सिन बनाएका थिए जुन प्रभावकारी भएपछि यसले उनलाई मानवका लागि पनि भ्याक्सिन विकास गर्न प्रेरित गरेको थियो । यद्यपि यो भ्याक्सिनले आफ्नो प्रभावकारिता पुष्टि गर्न ‘टेस्टिङ’ पार गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया