बिहीबार, वैशाख १३, २०८१

जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तक

नेपालखोज २०७६ फागुन १४ गते ७:५९

जुम्ला । जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो ।

विद्यालयले विद्यार्थीको सही विवरण पठाएअनुसार किताब खरिद गरेकाले यहाँका विद्यार्थीलाई खाली हात कक्षामा जान बाध्य नभएको सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताए । गाउँपालिकामा २७ सामुदायिक विद्यालयका पाँच हजार ५०० भन्दा बढी विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न विद्यालयलाई गाउँपालिकाले समयमै रकम उपलब्ध गराएको थियो । नयाँ शैक्षिकसत्र भर्ना यही फागुन १० गते समाप्त भएको र अब पढाइ नियमित हुने पालिकाको शिक्षा युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले बताए ।

सदरमुकाममा रहेको चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले किताब पसलबाट किताब खरिद आफैँ गर्छन् र विद्यालयले खरिद गरेको बिल पेश गरेपछि खरिद मूल्यअनुसार नगद भुक्तानी गर्दछ । यहाँका अरु पालिकाले पनि आफ्नो पालिकाभित्रका किताब पसल र सदरमुकाम खलङ्गामा गरेका किताब पसललाई विद्यालयको पाठ्यपुस्तक खरिदको जिम्मा दिएकाले विद्यार्थीले यो वर्ष समयमै पाठ्यपुस्तक पाएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया