शुक्रबार, वैशाख १४, २०८१

शेयर बजार : नेप्सेको उकालो गति तिव्र, एकै दिन ४ अर्बको कारोबार

नेपालखोज २०७६ फागुन १४ गते १५:५५

काठमाडौँ । शेयर बजारमा खरिदबिक्री रकमले बुधबार फेरि अर्को नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्लो समय उत्साहजनक हिसाबले वृद्धि भएको सेयर बजारमा कारोबार रकमले अत्याधिक साथ दिएको हो । शेयर बजारमा लगानीकर्ताहरु निकै सक्रिय देखिएका छन् ।
नेप्से सूचक बुधबार ५० अंकले बढेर १५९६.१३ विन्दुमा आइपुगेको छ ।

१८० कम्पनीको ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९९ लाख ६ हजार ९८९ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका १२ वटै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ५७१.१८ अंकले बढेको छ । यता, निर्जीवन बिमा समूह पनि २३३.५१ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक ५०.४७ अंकले वृद्धि भएको छ ।

खरिदबिक्रीमा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको २१ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, दोस्रोमा शिवम् सिमेन्ट्स र तेस्रोमा नेपाल बैंक परेका छन् ।

शिवमको १८ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एभरेष्ट बैंक (कन्भर्टिवल प्रिफिरेन्स), राष्ट्रिय बिमा कम्पनी, युनिलिभर नेपाल लगायतका कम्पनीको भाउ १० प्रतिशतले बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै ८.२९ प्रतिशत का दरले राधी विद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया