बिहीबार, वैशाख १३, २०८१

नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापनमा मेरो कुनै संलग्नता छैन : देउवा

नेपालखोज २०७६ फागुन १४ गते १८:१०

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी फागुन १३ गते सार्वजनिक विवरण प्रति आपत्ति जनाएका छन् ।

देउवाले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन, ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’

देउवाले २०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको समेत बताएका छन् । उनले बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा आफूलार्ई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत भएको बताएका छन् ।

देउवाले हालै सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा आफूले हरेको समेत बताएका छन् । ‘कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवावलाई निरन्तरता दिन आग्रह गर्दछु,’ देउवाको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया