शुक्रबार, चैत १६, २०८०

लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार, छिट्टै सार्वजनिक हुने

नेपालखोज २०७६ फागुन १५ गते ८:१९

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् । नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नक्सा तयार पारेको हो ।

नेपालको नक्सामा ती भूमिलाई समावेश गरी मिचिएको भूमि फिर्ता गर्ने अभियानमा सरकार अघि बढेको भूमि व्यवस्थामन्त्री अर्यालले बताइन् । ‘हामी हाम्रो भूमि छोड्दैनाैं त्यसैले मिचिएका सबै भूमिलाई समेटेर नयाँ नक्सा तयार पारिसकेका छौं,’ मन्त्री अर्यालले भनिन् । मन्त्री अर्यालले नया नक्सा छिट्टै सार्वजनिक गरी नक्सालाई देशव्यापी बनाइने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि नै भएकाले त्यसलाई फिर्ता गर्ने विषयमा भारतीय पक्षसँग कूटनीतिक पहल थालिएको बताउँदै आएका छन् । सरकारले तयार पारेको सो नक्सालाई संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय तथा विद्यालयमा पठाउने तयारी गरिएको छ ।

यसअघि संघीय संसद्का राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत अतिक्रमित नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो । सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा सोही क्षेत्रमा नै पर्छ । तर, विगतका सरकारले ती भूभाग समेटेर नयाँ नक्सा बनाउन सकेका थिएनन् । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया