बिहीबार, वैशाख ६, २०८१

नेकपा भित्रको विवाद चुलिँदै, पार्टीमा विवाद हुनु स्वभाविक भएको प्रचण्डको तर्क

नेपालखोज २०७६ फागुन १५ गते १६:४७

काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद छताछुल्ल भएको छ । केही दिनदेखि पार्टी केन्द्रीय सचिवालय बैठकमा समेत शीर्ष नेताहरुबीच चर्काे विवाद भइरहेको छ ।

पार्टीभित्रको विवाद सचिवालयमा मात्र सीमित रहेकोमा बिहीबार भने सार्वजनिक रुपमै बाहिर आएको छ । सार्वजनिक मञ्चबाट नै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विवाद हुनु स्वभाविक भएको बताएका छन् ।

आज राजधानीमा भएको नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले विवाद नभएको दिन पार्टी नै नचाहिने तर्क गरे । ‘धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ,’ प्रचण्डले भने,‘हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’

उनले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए।

विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ प्रचण्डले भने।

पछिल्लो समय नेकपाभित्र प्रचण्ड र अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीबीचको विवाद उत्कर्षमा पुगेको छ।

बुधबारमात्रै प्रचण्डको प्रस्तावमा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली झनै रूष्ट बनेका छन्।

उनले अर्का नेता माधवकुमार नेपालसँग सचिवालयको उक्त निर्णय नमान्ने बताइसकेका छन्।

राष्ट्रिय सभामा वामदेव जान्छन् कि ओलीको चाहनाअनुसार अहिलेका अर्थमन्त्री युवराज खतिवडा नै रहन्छन् भन्ने टुंगो नभइसकेका बेला आज नेकपाका दुबै अध्यक्ष एउटै मञ्चमा देखिएका हुन्।

प्रतिक्रिया