प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
काँस्की । पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।
यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो ।
टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्कका साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्कसहित दोस्रो स्थान हासिल गरेको थियो । नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।
पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्कका साथ प्रथम, जङ्गमेन चोइ ७३४ अङ्कसहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्कसहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन् ।
महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्कसहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र स्वीजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्कसहित तेस्रो र चौथो स्थानमा रहनुभएको छ । प्रतियोगीहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।
प्रतियोगितामा २० देशका ९२ खेलाडीले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिहेका छन् । यस टूरबाट पाँचदेखि आठ जना खेलाडी प्याराग्लाइडिङ वल्र्डकप सुपर फाइनलका लागि छनोट गर्ने योजना छ ।
प्रतिक्रिया