शुक्रबार, वैशाख १४, २०८१

‘प्रदेश केन्द्रीय सचिवालय भवन’ निर्माण यसै वर्ष शुरु हुने

नेपालखोज २०७६ फागुन १७ गते १५:३०

सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा निर्माण गर्ने योजना अघि सारेको छ ।

सङ्घीय सरकारका अधिकांश मन्त्रालय सिंहदरबार परिसरमा भएजस्तै प्रदेश सरकारले पनि त्यही स्वरुपमा मन्त्रालयका भवन निर्माणको तयारी गरेको हो । तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रहेका भवनबाट हाल प्रदेश प्रशासन चलिहरेको छ ।

पुराना, साँघुरा र जीर्ण भवन हुनु, मन्त्रालय टाढाको दूरीमा रहँदा सेवाग्राहीलाई समस्या भएको प्रदेश सरकारको निष्कर्ष छ । यसको दीर्घकालीन समाधानका लागि एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै मन्त्रालय रहने गरी भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माणका लागि पूर्वाधार विकास निर्देशनालयले गत आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको थियो । ‘केन्द्रीय सचिवालय भवन निर्माण’ नाम दिइएको उक्त आयोजनाका लागि जग्गाको छनोट भइसकेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ रहेको दुई बिघा जग्गामा मन्त्रालयका भवन निर्माण हुनेछन् । सिंहदरबारकै स्वरुपमा एउटै हाताभित्र मन्त्रालयका भवन निर्माण गर्ने र चार वटा गेट राख्ने प्रदेश सरकारको योजना छ ।

पूर्वाधार विकास निर्देशनालयका निर्देशक वासुदेव पौडेलले प्रदेश सरकारको केन्द्रीय सचिवालयको भवन निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेण्डर आह्वान भई निर्माण शुरु हुने बताउनुभयो ।

यसका लागि प्रदेश सरकारले सुर्खेत उपत्यका नगर विकास समितिलाई जग्गा भोगचलनका लागि आग्रह गरेको छ । निर्देशक पौडेलले भोगचलन अनुमति पाइसकेपछि टेण्डर प्रक्रिया शुरु हुने बताए ।

पहिलो चरणमा दुई वटा भवन निर्माण गरिनेछ । जसका लागि चालू आवमा रु २० करोड विनियोजन गरिएको छ । त्यसपछि क्रमशः अन्य मन्त्रायलका भवन निर्माण हुनेछन् । उक्त क्षेत्रमा भूमिगत पार्किङसहित चारतले भवन निर्माण गरिनेछ ।

प्रतिक्रिया