काठमाडौँमा नेविसंघको प्रदर्शन, बाँस्कोटालाई कारबाही गर्न माग
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नु पर्ने लगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।
नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ ।
स्वीस कम्पनीका एक जना एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ताको जिम्मेवारीमासमेत रहेका बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।
उनले उक्त अडियो टेप बनावटी भएको दाबी गर्दै मिश्रविरुद्ध मानहानी र गालीबेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्तासमेत गरेका छन् ।
प्रतिक्रिया