प्रधानमन्त्रीको मिर्गौलासँग नातिनीको मिर्गौला म्याच
काठमाडौँ । आउने बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुँदैछ । जसलागि उनकी नातिनीको मिर्गौला ‘म्याच’ भएको छ । एक उच्च स्रोतका अनुसार उनकी नातिनीको मृर्गौला म्याच भएको छ र उनी मिर्गौला दिन तयार समेत भएकी छिन् ।
उनको नजिककी नातेदार नातिनीको नाम भने सार्वजनिक गरिएको छैन । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको र उनी दिन तयार भएकाले उनको मिर्गौला नै प्रत्यारोपण गरिने भएको हो ।
ओलीको पहिलो मिर्गौला प्रत्यारोपण दिल्लीमा २०६३ सालमा भएको थियो । अहिले उनको चाहाना बमोजिम नै दोस्रो प्रत्यारोपण देशभित्रै शिक्षण अस्पतालमा गर्न लागिएको हो । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।
पछिल्लो समय उनले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्य क्रिय समेत सोही अस्पतालमा सफल भएको थियो ।
प्रतिक्रिया