पारमाणविक विधेयक दफावार छलफलका लागि समितिमा
काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकले ‘पारमाणविक विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उक्त प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सदनमा प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले ‘भौतिक पूर्वाधार तथा सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम एवं राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन, २०७६’ सभासमक्ष पेश गरे।
प्रतिवेदन पेश गर्दै उनले प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुई–दुई जिल्लामा अन्तक्र्रिया गरिएको बताए । ती जिल्लामा भौतिक र जनशक्तिको उपलब्धता कारण सुशासन कायम हुन नसकेको तथा नमूना छनोटका आधारमा नगरपालिका एवं गाउँपालिकाका न्यायिक समितिको गतिविधि प्रभावकारी हुन नसकेको पाइएको उनले बताए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २१ गते दिउँसो १२ः१५ बजे बस्नेछ ।
प्रतिक्रिया