कोरोनाको संक्रमण फैलिन सक्ने आशंकामा नयाँ परीक्षा तालिका सार्वजनिक
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधपछि स्थानीय सरकार तथा विद्यालयले धमाधम नयाँ परीक्षा तालिका सार्वजनिक गरेका छन् ।
कोरोना (कोभिड १९) भाइरसको त्रास फैलन सक्ने आशंकामा मन्त्रालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न विद्यालयलाई अनुरोध गरेको थियो ।
चैत दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारी गरिरहेका सबैजसो विद्यालयले फागुनको अन्त्यबाटै परीक्षा चलाउने गरी तालिका बनाएका हुन् । कतिपय स्थानीय तहले कक्षा ८ को परीक्षा पनि अनुकूल समय मिलाएर आफैं सञ्चालन गर्न विद्यालयलाई अधिकार दिएका छन् ।
विगतमा जिल्ला स्तरीय भनिएको कक्षा ८ को परीक्षा स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । शनिबारको दिन पनि परीक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ ।
प्रतिक्रिया