सोमबार, माघ २८, २०८१

प्रतिनिधिसभाको बैठकमा कोरोनाविरुद्ध एकजुट हुनुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने

नेपालखोज २०७६ फागुन २३ गते ८:४१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा शुक्रबार आज बस्दै छ । शुक्रबार आज बस्ने प्रतिनिधिसभा बैठकमा कोरोना भाइरसविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने भएको छ ।

Advertisement

बैठक विहान ११ बजेका लागि बोलाइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेपछि यससँग जुध्न सरकारले के गरेको छ ? अस्पतालको अवस्था के छ ? भन्ने जस्ता प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गरिएको छ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले यस विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । प्रस्तावको पक्षमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणी राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नेछन् ।

बैठकमा आज कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा पनि संकल्प प्रस्ताव पनि पेश हुनेछ । सत्तारुढ नेकपाकै सांसद खगराज अधिकारीले पेश गर्ने प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्नेछिन् ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकबाट नेपालको भू–भाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी सरकारलाई निर्देशन गरेकाले कुटनीति र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न प्रस्ताव दर्ता गरिएको हो ।

प्रतिक्रिया