नेपालीले कोरोना भाइरसको संक्रमण झेल्नु परे अवस्था के होला ?
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना भाइरस इरानमा जस्तै गरी नेपालमा पनि फैलिए के गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई यस्तो प्रश्न गरेका हुन् । उनले विश्वका विभिन्न देशमा कोरोनाका कारण ज्यान मृत्यु हुनेको संख्या बढिरहेका बेला नेपाल यसको संक्रमणदेखि बाहिर रहनु सुखद् भए पनि इरानको जस्तो अवस्था बेहोर्नु परे के होला भन्दै प्रश्न गरे ।
अन्य देशमा सांसद, मन्त्रीहरुसम्मलाई संक्रमण भएको स्मरण गराउँदै उनले भने, ‘अहिले हामी कामना गरेर बस्ने कि यो समयको सदुपयोग गर्ने ?’
विश्व स्वास्थ्य संगठनले समेत जोखिमको देशहरुको सुचीमा नेपाललाइ पनि राखिएको कुरा स्मरण गराउँदै उनले नेपाललाई देशको भुअवस्थितिको कारण मात्र जोखिममा नराखिएको बताए। उनले भने, ‘सीमामा चेकजाँच गर्ने हाम्रो क्षमता, सिंगो स्वास्थ्य प्रणालीको क्षमता, यी सबै कुराका कारण पनि नेपाल उच्च जोखिममा रहेको हो ।’
उनले कोरोनाभाइरसलाई नेपाल आउनै नदिन र फैलन नदिनको लागि तयारी अवस्थामा रहनुपर्ने बताए । यो एउटा स्वास्थ्य मन्त्रालयको कुरा मात्र नभएको भन्दै उनले सरकारको मात्र नभई सबैले यस अवस्थामा जिम्मेवारपूर्ण ढंगले सोच्नुपर्ने बताए ।
फेब्रुअरी २० देखी २७ सम्ममा मात्र इटाली, जापान, कोरिया र चीनसम्मको गरी १३७८ जना नागरिक नेपाल प्रवेश गरेको र तिनीहरु कहाँ छन् भन्ने ट्याकिङ नभएको उजको भनाइ छ। बाहिरबाट नेपाल आउने को नेपाली नागरिक वा गैरनेपाली नागरिक हुन्, कुन देशलाई पूर्ण रुपमा रोक्ने, कुन देशबाट प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने, कुन देशबाट आउने मान्छेलाई निरन्तर ट्याकिङ गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने समेत उनले बताए ।
प्रतिक्रिया