शनिबार, माघ २६, २०८१

यसरी कोरोनामय बन्यो शुक्रबारको संसद बैठक !

नेपालखोज २०७६ फागुन २३ गते १६:२५

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्व तयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।

Advertisement

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गरेको प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गरे । सो प्रस्तावमा कोरोना कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको तर सरकारबाट उच्चस्तरीय समन्वय समिति गठन हुनु सराहनीय रहेको उल्लेख छ ।

प्रस्तावमा उक्त भाइरसबारे आम जनतामा सही ढङ्गले सूचना दिई नेपाल बाहिर रहेका नेपालीको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकको व्यवस्थापन गर्न माग गरिएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले तयारी गर्दा गर्दै पनि सङ्क्रमण फैलियो भने अहिले नै गर्नुपर्ने काम केहो भन्ने विषयमा तयारी गर्नु जरुरी रहेको बताए । सांसल थापाले भाइरस सङ्क्रमण हुन नदिन सबैको आ–आफ्नो जिम्मेवारी रहेको बताए े । यसका लागि एकीकृत कार्ययोजना आवश्यक भएको सांसद थापाले बताए ।

यस्तै, सत्तारुढ नेकपाका सांसद भीम रावलले कोराना भाइरसको प्रकोप नेपालमा फैलन नदिन भारतसँग सीमा जोडिएका क्षेत्रमा विशेष निगरानी र सचेतता बढाउन सरकारको ध्यानाकर्षण गराए । आज बसेको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद रावलले खासगरी भारतसँग अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाहरु नियमन नभएकाले त्यसले नेपालमा समस्या पार्ने बताए ।

भारतमा कोरोनाको संक्रमण देखिएका केही बिरामी देखिएको भन्दै उनले यसले नेपालमा पनि जोखिम बढाउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । उनले औषधि, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन र त्यसबारे ढुक्क हुने अवस्था बनाउन सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया