कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ ११ नेता मनोनीत, हेर्नुहोस सूचीसहित !
काठमाडौँ । नेपाली कांग्रेसले तत्कालीन लोकतान्त्रिक फोरमका ११ जनालाई पार्टीको केन्द्रीय कार्यसमितिमा मनोनीत गरेको छ। कांग्रेसले विज्ञप्ति जारी गर्दै शुक्रबार यस मनोनयनको जानकारी दिएको हो।
रामजनम चौधरीलगायतका ११ जनालाई पार्टी एकीकरणका बेला भएको सहमतिअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दुई पार्टी एकीकरणका बेला कांग्रेस र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबीच ११ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने सहमति भएको थियो। दुई पार्टीबीच २०७४ असोजमा एकीकरण भएको थियो।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानुनबमोजिम एकीकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको र उक्त निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका देहाय बमोजिमका सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नुभएको छ।’
मनोनयनमा परेका ११ नेताको सुची
१. रामजनम चौधरी — कैलाली
२. नसिर सिद्धिकी — सिराहा
३. भारतेन्दुकुमार मल्लीक — झापा
४. हेमराज तातेड — सप्तरी
५. गोपाल दहित —बर्दिया
६. मंगलप्रसाद थारु —बर्दिया
७. योगेन्द्र चौधरी —दाङ्ग
८. हरिप्रसाद न्यौपाने — मोरङ्ग
९. सुमित्रा थरुनी — सुनसरी
१०. कल्पना चौधरी — सुनसरी
११. पवनकुमार सारडा — मोरङ्ग
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो।
प्रतिक्रिया