बुधबार, वैशाख २६, २०८१

पर्यटकीय क्षेत्र ठमेल कोरोनाका कारण सुनसान

नेपालखोज २०७६ फागुन २४ गते १७:०६

काठमाडौं । सधैँ जसो भीडभाड र व्यस्त देखिने काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल बजार आजभोलि सुनसान देखिन थालेको छ । देशीहरुको बाक्लो उपस्थिति रहने यो बजारमा तिनै विदेशीहरुको चहल पहल कम हुँदा ठमेलको रौनकता नै हराएको हो ।

सर्वप्रथम चीनमा देखिएको कोरोना भाइरस फैलिदै विश्वका अन्य मुलुकमा समेत फैलिन थालेपछि यसको प्रभाव नेपाली पर्यटन र आर्थिक क्षेत्रमा समेत देखिन थालेको छ । सबैजसो पसल, मनी एक्सेन्ज, ह्यान्डी क्र्याफ्टका पसल, ट्राभल एजेन्सीहरु, हवाई टिकट बुुकिङ काउन्टरहरु, होटल तथा रेष्टुुरेन्ट ग्राहक विहीन बनेका छन् ।

दैनिक अबांैको व्यापार हुुने ठमेल क्षेत्रको व्यापार पछिल्लो दिन खुम्चिएर करोडमा झरेको छ , बिस्तारै लाखमा झर्ने सम्भावना रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले बताए । विगत दुई महिनादेखि कोरोना भाइरसको समाचारहरु आएपछि ठमेलमा पर्यटकहरुको संख्या कम हुँदै गएको छ । २०७५ सालको फागुन महिनामा पर्यटकहरुको संख्या यस वर्षसंग तुलना गर्ने हो भने २५ प्रतिशत मात्र रहेको र यस्तो अवस्थाले कुनै पनि व्यापार सञ्चालन गर्न नसकिने उपाध्यक्ष शर्माको भनाई रहको छ ।

कोरोना भाइरसको कारणले देखिएको पर्यटक अभावले ठमेलका ठूला व्यवसायीलार्ई मात्रै नभई त्यस क्षेत्रका पर्यटन व्यवसायसँग जोडिएका साना व्यवसायी जस्तै रिक्सा चालकहरुलाई समेत प्रभावित तुुल्याएको छ ।

नेपालले भ्रमण वर्ष २०२० मनाउँदै गर्दा कोरोना भाइरसको संक्रमण विश्वभर फैलिन थालेपछि यतिखेर ठमेल सुुनसान भएको हो । भ्रमण वर्षलाई लक्षित गरी ठमेल क्षेत्रमा खोलिएका नयाँ होटलहरुको लगानीमा पर्यटकको अभावले गर्दा लगानि डुब्ने सम्भावना रहेको परिषद्का उपाध्यक्ष भवि शर्माले बताउँछन ।

विषेशगरी मार्च र अप्रिल महिनामा पर्यटकहरु ट्रेकिङ्गका लागि नेपाल आउने गरेका छन् । तर कोरोना भाइरसको कारणले हाल त्यो व्यवसायमा पनि प्रभाव परेको छ । ठमेलका कतिपय व्यवसायीहरुले आफ्नो बोहनी अर्थात पहिलो विक्री समेत नहुने गरेको बताएका छन् ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ ।

अहिलेसम्म नेपालमा एक जनामा कोरोना देखिए पनि यसको त्रासले सबै क्षेत्रमा प्रभाव परेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमको सूचीमा राखेको कारणले पनि नेपाल आउने पर्यटकको संख्या झनै कम भएको छ । जसको प्रत्यक्ष प्रभाव काठमाडौंको ठमेलमा परेको छ ।– पुजा गिरी 

प्रतिक्रिया