नागार्जुन नगरपालिकाद्वारा कोरोनाको भाइरस रोकथामका लागि उच्च सतर्कता अपनाउने
काठमाडौ । नागार्जुन नगरपालिकाले विश्वव्यापीरुपमा फैलदै गएको कोरोना भाइरसबाट बच्च उच्च सतर्कता उपनाउने निर्णय गरेको छ ।
नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा प्रदेशसभा सदस्य केशब पोखरेल नगर उपप्रमुख सुशीला अधिकारी सबै वडाका वडाध्क्ष, नगरपालिकाका शाखा प्रमुख र नेपाल प्रहरीका कर्मचारी सहितको उपस्थितिमा बसेको बैठकले भाइरसबाट बच्च उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
भाइरसबाट बच्च आमनागरिकमा जनचेतना अभिबृद्धि गर्न नगरपालिकाको स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, आयुर्वेदिक शाखा, महिला स्वयम् सेविका र प्रहरी साझेदारी कार्यक्रम मार्फत संयुक्त रुपमा जनचेतनामूलक कार्यक्रम गरी प्रचारप्रसार गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा नगरपालिका भित्र कुनै कोरोना भाइरसका संक्रमित व्यक्ति देखिएमा टेकु अस्पतालसँग समन्वय गरी उपचार गर्ने र उक्त अस्पतालमा आइसुलेसनको व्यवस्था नभएमा नजिकैको मनमोहन, शुभेच्छा, सहिद मेमोरियल अस्पतालमा आवश्यक समन्वय गरी बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
कोरोना भाइरसका कारणमा बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना हँुदै गएको गुनासो आउन थालेपछि नगरपालिकाको नेतृत्वमा नगरभित्रका सबै व्यवसायिक पसलमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अनुगमन गर्ने निर्णय गरिएको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।
नगरपालिका क्षेत्रमा कुनै प्रकारका सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न र होली समेत नखेल्न सबैमा आग्रह गरिएको छ ।
नगरपालिकाले एउटा एम्बुलेन्स खरिद गरी प्राथमिक स्वास्थ्य केन्द्र रामकोटलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
प्रतिक्रिया