आज तराईमा होली पर्व मनाइँदै, जनकपुरमा भोलि मनाइने
धनुष । फागु अर्थात होली पर्व आज मंगलबार तराईमा मनाइँदै छ । हिजो पहाडी र हिमाली क्षेत्रमा मनाइएको होली पर्व आज तराईका जिल्लामा मनाउँन लागिएको हो ।
तराईका जिल्लाहरुमा आज अबीरलगायतका रङ्ग दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । तर यसपाली भने कोरोना भाइरसको जोखिमका कारण तराईमा पनि अघिल्ला वर्षको जस्तो होलीको उल्लास नभएको बताइएको छ ।
होलीको अवसरमा तराईमा मङ्गलबार आज सार्वजनिक बिदा दिइएको छ । तर कोरोनाको जोखिम रहेकाले सरकारले भिडभाड नगर्न आग्रह गरेको छ ।
भिडभाडमा जाँदा, नजिकै पुगेर रङ्ग लगाइदिँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन डाक्टरले आग्रह गरेका हुन् ।
यसैबीच धनुषाको जनकपुरमा भने भोलि मात्रै होली पर्व मनाइने भएको छ ।
आज मङ्गलबार परेकोले माछा मासु खान नमिल्ने भएपछि धनुषा जिल्लामा भोलिमात्रै होली पर्व मनाइन लागेको हो ।
प्रतिक्रिया