सोमबार, माघ २८, २०८१

विद्यार्थीलाई यातना दिने शिक्षिकालाई रिहा गर्न दबाब

नेपालखोज २०७६ फागुन २७ गते १३:१२

काठमाण्डौ । जडीबुटीस्थित जागृति एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई रिहा गरिदिन अभिभावकहरुले नै दबाब दिएका छन् ।

Advertisement

महानगरीय प्रहरी वृत बानेश्वरमा हिरासतमा रहेकी शिक्षिका कर्माचार्यलाई रिहाइ गर्न अभिभावकले नै दबाब दिएका हुन् ।

परीक्षामा कम नम्बर ल्याएको भन्दै उनले विद्यार्थीलाई नाडी ब्लेडले चिर्न लगाएकी थिइन् ।

त्यसको भोलिपल्ट शुक्रबार अभिभावकहरु उजुरी गर्न विद्यालय पुगेका थिए । फागुन २३ गते कर्माचार्यलाई विद्यालय व्यवस्थापन समितिले बर्खास्त गरेको थियो ।

शनिबार प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शनिबार पक्राउ परेकी कर्माचार्य आइतबार र सोमबार सार्वजनिक बिदा भएका कारण अदालतबाट म्याद लिएर उनको अनुसन्धान हुन सकेको छैन् ।

उनलाई आज अदालतमा उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा पीडित विद्यार्थीका अभिभावक र प्रिन्सिपल राजनकुमार श्रेष्ठलाई बोलाएर प्रहरीले सोधबुझ गरेको छ ।

वृतका डिएसपी दुर्गाराज रेग्मीले हिरासतमा रहेकी शिक्षिकालाई रिहाइ गर्न अभिभावक र प्रिन्सिपलले दबाब दिएको बताए ।

“शिक्षिकाले घटनामा माफी मागिसक्नुभएको छ, एक पटकलाई हामी माफी दिन्छौं छोडिदिनुपर्यो भन्दै अभिभावकहरुले उजुरी नै दिन चाहनुभएको छैन,” डीएसपी रेग्मीले भने ।

तर कसुर गर्नेलाई अनुसन्धान नगरी रिहा गर्ने भन्ने कुरा नै हुँदैन । शिक्षिकालाई बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार मुद्दा दायर गरिने उनले बताए ।

प्रतिक्रिया