शुक्रबार, साउन ४, २०८१

युरोपका नेपाली सुरक्षित, इटलीका १५ सय नेपाली नियमित सम्पर्कमा

नेपालखोज २०७६ फागुन २९ गते ६:५६

काठमाडौं । युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।

इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।

इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।

मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौं।’ बाहिरबाट देखिएजस्तो भयावह स्थिति नभएको उनले बताए। ‘सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सर्वसाधारण थप सचेत बनेका छन्,’ उनले भने, ‘हामी नेपाली पनि अत्तालिएका छैनौं। तर, संक्रमण बढ्दै गयो भने के होला भन्ने अन्योल छ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया