प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन आज मतदान हुँदै
हेटौडा । प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि शनिबार आज स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ ।
स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि आज मतदान प्रक्रियाबाट टुंग्याउन लागिएको हो ।
स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सचिवालयका एक अधिकारीले बताएका छन् ।
तर, नामकरण विषयमा अझै दलहरू विभाजित देखिएका छन् । यसको टुंगो लगाउने प्रक्रिया थप लम्बिन सक्ने ती अधिकारीले बताएका छन् । हिजो बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गर्नु भएको थियो ।
सोही प्रस्तावअनुसार आज दिउँसो १ बजे प्रदेशसभाको अर्को बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयका एक अधिकारीका अनुसार आजै मतदान गराउने तयारी भएको छ ।
प्रतिक्रिया