बिहीबार, वैशाख १३, २०८१

सार्क राष्ट्रहरु कोरोना विरुद्ध एक जुट हुँदै, आज साँझ सबै राष्ट्रका सरकार प्रमुखले यसरी भिडियो सम्वाद गर्ने !

नेपालखोज २०७६ चैत २ गते १२:३६

काठमाडौँ । दक्षिण एशियाली देशहरुले कोरोना भाइरस विरुद्ध लड्नकालागि साझा रणनीति बनाउँदै छ । विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग के कसरी जुध्न भन्ने विषयमा आज (आइतबार) छलफल हुन लागेको हो। सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले भिडियो सम्वादमार्फत छलफल गर्ने छन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार भिडियो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी सवा ५ बजेपछि सम्वोधन गर्ने छन् ।

सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी हुने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

भिडियो सम्मेलनमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्नका लागि सार्कले संयुक्त पहल गर्नुुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई प्रधानमन्त्री ओलीले शुक्रबार नै स्वागत गर्दै सहमति जनाएका थिए ।

सार्क राष्ट्रमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । सबै राष्ट्रले मोदीको प्रस्तावमा समर्थन गरेका थिए । भारतमा कोरोना भाइरसबाट २ जनाको ज्यान गएको छ भने नेपालमा १ जना संक्रमित भेटिएको र उनी उपचारपछि निको भैसकेका छन् । सार्क राष्ट्रमध्ये भारतमा बाहेक अरु देशमा कोरोना भाइरसको कारण कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया