शुक्रबार, वैशाख १४, २०८१

इटाली र इरानबाट भारतीयको उद्धार

नेपालखोज २०७६ चैत २ गते १५:०५

काठमाडौँ । भारतीय अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् ।

कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० जना यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ । उनीहरु आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन् ।

भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिए। विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताए ।

विश्व स्वास्थ्य संगठनले कोविड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो । इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन् । दुईवटा एयर इन्डिया उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

प्रतिक्रिया