शुक्रबार, चैत १६, २०८०

प्रदेश र स्थानीय तह भंग गरौं : नेकपा सांसद शर्मा

नेपालखोज २०७६ चैत २ गते १६:००

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले संघीयता कार्यान्वयन गर्न इमान्दार नहुने हो भने प्रदेश र स्थानीय तह भंग गर्नुपर्ने बताएका छन् ।

उनले संघीयताको मर्मअनुसार काम हुन नसकेको बताउँदै अहिले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिप्रति केन्द्रबाट विभेद र अविश्वासको व्यवहार भएको बताएका हुन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आक्रोसित हुँदै उनले भने ‘हामी यहाँ प्रतिनिधि छौं भने तलका प्रतिनिधि जनताबाट निर्वाचित होइनन् ? तिनमा जनताको विश्वास छैन ? तिनीहरु राष्ट्रप्रति इमान्दार छैनन् ? हामीमात्र इमान्दार छौं ? त्यसो भए संघमात्र राखौं न त किन चाहियो तल (प्रदेश र स्थानीय तह) सबै भंग गर्दिऔं ।’

बैठकमा संघीय निजामती सेवा विधेयकका टुंगिन बाँकी विषयमा छलफल भएको थियो । प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने कि प्रदेशको भन्ने विषयमा छलफल भए पनि टुंगो नलागेपछि समितिको बैठक यही चैत पाँच गतेसम्मका लागि स्थगित गरिएको छ ।

समिति सचिवालयले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहको हुने गरी प्रस्ताव तयार पारेको छ । सांसदहरुबीच मत बाझिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीले यो विषयमा आफूले राजनीतिक तहमा पनि छलफल गरिरहेको जानकारी गराउँदै थप समय मागेका छन् ।

छलफलमा भाग लिँदै सांसद शर्माले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहकै हुनुपर्ने भन्दै समितिले ल्याएको प्रस्तावको समर्थन गरे । उनले यो प्रस्तावको विरोध गर्नेहरु संघीयता कार्यान्वयनमा इमान्दार नभएको समेत बताए ।

प्रतिक्रिया