शुक्रबार, वैशाख १४, २०८१

कोरोना : छैनन् पर्याप्त आईसीयू बेड, तयारी मै छौँ भनि भाषणमा दिन विताउँदै सरकार

नेपालखोज २०७६ चैत २ गते १७:००

काठमाडौँ । सरकारले २३५ आईसीयू बेड तयार पार्ने भएको छ । विश्वभर कोरोना भाइरस (कोभिड १९) ले फैलिएको महामारीलाई ध्यानमा राखि बेड तयार पार्न लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले जानकारी दिए । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको छ । सोहि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको हो । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।

मन्त्री ढकालका अनुसार कोरोनाको संक्रमण भइहाले उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाउने सरकारको तयारी छ । यसैगरि, वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी रहेको मन्त्री ढकालले जानकारी दिए ।

 

कोरोना : नेपालको अहिलेसम्मको अवस्था

मन्त्री ढकालले दिएको जानकारी अनुसार अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको छ । ९ जनवरी २०२० मा नेपाल आएका विद्यार्थीले १३ तारेखमा परीक्षण गराउँदा पोजेटिभ देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिजल्ट आएको छ ।

सामान्यतयाः १५ सय, तीन हजार वा साढे ४ हजारसम्म संक्रमित हुँदा पनि सहज व्यवस्थापन गर्ने अन्तरिम तयारीमा रहेको भन्दै मन्त्री ढकालले भयभीत र आतंकित नभई संयमता अवनाउन सर्वसाधारणलाई अपील गरेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महाहारी घोषणा गरिसकेको छ ।

प्रतिक्रिया