कोरोनाविरुद्ध एकजुट हौं : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि सम्पूर्ण विश्व एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।
आइतबार साँझ सार्क राष्ट्र र सरकार प्रमुखहरुसँग सञ्चालन भएको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अहिले कोरोनाले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको छ । यसको नियन्त्रणका लागि सम्पूर्ण विश्व एकजुट भएर लाग्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘कन्फरेन्स आयोजना गर्नु भएकोमा म मोदीजीलाई धन्यवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण विश्व अर्थत्रन्त्रमै गम्भीर समस्या उत्पन्न भएको बताउँदै यसको संक्रमण रोकथाममा सार्कका सबै सदस्य राष्ट्र र सबै राष्ट्रले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्ने बताए ।
३० फागुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै कोरोना भाइरस नियन्त्रणका लागि सार्क राष्ट्रहरु एकजुट भएर रणनीति बनाएर यसको नियन्त्रणबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री ओलीले अस्पतालबाटै मोदीको उक्त प्रस्तावमा सहमत जनाएका थिए । सोही साँझ अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबार साँझ आफ्नो सचिवालय सदस्यहरुलाई जानकारी गारउँदै आइतबार साँझ उक्त भिडियो कन्फरेन्समा आफू सहभागी हुने बताएका थिए ।
प्रधानमन्त्री ओली भिडियो कन्फरेन्सका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आउने भएपछि आइतबार दिउँसोबाटै कार्यालय परिसरमा स्प्रे गरेर सरसफाई गरिएको थियो । भिडियो कन्फरेन्समा कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नेप्रति नेपाल गम्भीर र ठोस कार्ययोजनाका साथ अघि बढ्ने पनि प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा एकजनामा कोरोना संक्रमणको आशङ्का देखिएको भए पनि जाँच गर्दा कोरोना पुष्टि नभएको बताए ।
प्रतिक्रिया