बिहीबार, वैशाख १३, २०८१

थप २३५ आइसियू बेड तयार हुँदैछन् : स्वास्थ्यमन्त्री

नेपालखोज २०७६ चैत ३ गते ७:०६

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्। राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले सम्भावित जोखिमलाई ध्यान दिई उपत्यकाभित्र १ सय २० र उपत्यकाबाहिर १ सय १५ वटा शड्ढया तयार पार्ने निर्णय भएको बताए। हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १ सय ७० वटा सघन उपचार शड्ढया छन् भने सम्भावित कोरोना संक्रमितको उपचार गर्न १ सय ५५ वटा आइसोलेटेड शड्ढया तयार पारिएका छन्।

मन्त्री ढकालले कोरोना उपचारका लागि काठमाडौं उपत्यकामा तीनवटा अस्पताल छुट्याइएको बताए। कोरोना प्रवेश भइहाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा त्यसबाट संक्रमितको मात्र उपचार गर्ने व्यवस्था मिलाइने र वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी रहेको उनले बताए। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण देखिएकाले नेपालमा जोखिम बढेको उनले स्पष्ट पारे।

देशबाहिर जाने १ सय २९ नाकामध्ये ४३ नाकामा स्वास्थ्य विन्दु राखिएको पनि मन्त्री ढकालले बताए। भारतको चारवटा नाकाबाट नेपाल प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए। औषधिको जोहो गर्ने कार्यमा सरकार लागेको, छिमेकी मुलुकसँग जोडिएका १ सय २८ स्थानीय तहलाई कडा सावधानी अपनाउन २१ बुँदे निर्देशन जारी गरेको, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिएको समेत उनले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया