बिहीबार, वैशाख १३, २०८१

महामारी जित्ने सार्कको प्रतिबद्धता

नेपालखोज २०७६ चैत ३ गते ७:१३

काठमाडौं । सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन्। कोभिड-१९ विरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ आयोजित ‘भिडियो कन्फरेन्स’मा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणविरुद्ध लड्न सरकारी संयन्त्रहरू मजबुत बनाएको बताए। ‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म तयारी गरेका छौं र राष्ट्रियस्तरमा त्यसको मैले आफैं निरीक्षण गरिरहेको छु’, प्रधानमन्त्री ओलीले भने।

भिडियो कन्फरेन्सको अगुवाइ गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको इमानदार सहकार्यको खाँचो रहेको बताए। ‘महामारीको यो युद्ध हामीले सँगै लड्नु र जित्नु छ। दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनु पनि छ। यसमा हामी सबैको इमानदार सहकार्य खाँचो छ’, मोदीले भने।

‘सार्क लिडर्स अन कमब्याटिङ कोरोना भाइरस : सेटिङ एन एक्जाम्पल फर दी वल्र्ड’ नामक भिडियो कन्फरेन्स गर्न मोदीले गत शुक्रबार आह्वान गरेका थिए। त्यसमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्र नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले समर्थन गरेका थिए।

एक घण्टा ४० मिनेट भएको छलफलको नेतृत्व मोदीले गरेका थिए। सार्क पर्यवेक्षक मुलुक चीनको हुपै प्रान्तको वुहानबाट फैलिएको कोरोनाका कारण विश्वभर ६ हजारभन्दा बढीले ज्यान गइसकेको छ। यसविरुद्ध लड्न सहकार्य गर्नुलाई सबै सदस्य राष्ट्रले सकारात्मक रूपमा लिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया