शुक्रबार, वैशाख ७, २०८१

माइतीघर मण्डलाको बगैंचाको हेरचाह कृषि बिकास बैङ्कले गर्ने

नेपालखोज २०७६ चैत ४ गते १७:१८

काठमाडौँ । काठमाडौंको केन्द्रविन्दुमा रहेको माइतीघरमण्डला क्षेत्र हरियाली प्रर्वद्धन गर्नका लागि काठमाडौं महानगरपालिका र कृषि बिकास बैङ्कवीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा आधुनिकीकरण गर्ने बिषयमा भएको सम्झौतामा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैङ्कलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते निर्णय गरेको थियो ।

सम्झौतापछि बोल्दै प्रमुख शाक्यले — बाहै्र महिना फूल फुलाएर हेर्दै आकर्षक ठाउँ बनाउन आग्रह गरे । यो ठाउँ बिज्ञापनका लागि होइन । खाली ठाउँ हेर्दै उराठलाग्दो भयो भने सहरको मुहार नै बिग्रिन्छ । त्यसैले मण्डला क्षेत्रमा कुनै पनि समय फूलबिहिन बनाउन हुँदैन ।
कार्यक्रममा बैङ्कका का.मु. उपमहाप्रबन्धक गौत्तमले, महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैङ्कले पूरा गर्ने बताए ।

सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ । आउँदो ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैङ्क आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैङ्कले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापनमुलक हुनेछैन ।

राष्ट्रिय पर्वसँगै महानगरले अनुरोध गरेको अवस्थामा मण्डलालाई बहु प्रयोग गर्न सकिने छ भने यस वरिपरिका ट्राफिक आइल्याण्डहरुलाई कलात्मक ढङ्गबाट मर्मत गर्ने र सौन्र्दयकरण झल्काउन आवश्यक पर्ने फूल वोट विरुवा लगाउने काम बैङ्कले गर्नेछ ।

प्रतिक्रिया