कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि
खोटाङ । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो ।
बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पतालका निमित्त प्रमुख डा शैलेस श्रेष्ठले बताए । “चीनबाट फर्किएका व्यक्ति भएकाले उनीमाथि सामान्य शङ्का हुनु स्वभाविक हो”, उनले भने, “तर उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य ज्वरोसमेत छैन, उनीमाथि कुनै शङ्का मान्नु पर्दैन ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन १४ गते नेपाल फर्किएका थिए । अध्ययनका क्रममा चीनको सान्यासिटीमा बसेर गाउँ फर्किएलगत्तै उनी बिरामी रहेको भन्ने अनावश्यक हल्ला जिल्लाभर फैलिएपछि परीक्षण गर्न स्वास्थ्यकर्मीसहितको टोली उनको गाउँ पुगेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नगरउपप्रमुख विणादेवी राई, प्रहरी नायब उपरीक्षक वामदेव गौतम, स्वास्थ्यकर्मीलगायतको टोलीले पीडित परिवारलाई भेटेका छन् ।
भेटघाटका क्रममा बिरामी भनिएका व्यक्तिका आफन्तले अनावश्यक हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिक्रिया