बिहीबार, माघ २४, २०८१

दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस

नेपालखोज २०७६ चैत ६ गते १२:३८

सुर्खेत । मुलुकभर आजदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगनले दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस भएको छ । परीक्षा दिन भनेर लत्ताकपडा, खाना खर्चसहित केही पैसा जोहो गरेका उनीहरु बुधबार आ–आफ्ना परीक्षा केन्द्रमा पुगिसकेका थिए ।

Advertisement

परीक्षा स्थगित भएको कुरा सम्बन्धित केन्द्रका केन्द्राध्यक्ष र स्थानीय तहका सरकार प्रमुखलाई थाहा भए पनि सबै परीक्षार्थीमा त्यो खबर पुगिसकेको थिएन । स्थगनको खबर नपाएका परीक्षार्थी आज बिहान परीक्षा केन्द्रमा पुगेका जुम्ला कालिका मावि तलिकुडु परीक्षा केन्द्रका केन्द्राध्यक्ष मानबहादुर सिंहले जानकारी दिए । “आज बिहान ७ः०० बजे परीक्षार्थी परीक्षा केन्द्रमा पुगेका थिए”, केन्द्राध्यक्ष सिंहले भने, “परीक्षा स्थगित भइसकेको छ, घर फिर्ता भइहाल भन्दा उनीहरुले पत्याएनन्, प्रमुख जिल्ला अधिकारीले पठाएको परीक्षा स्थगितको सन्देश र अखबारमा आएका समाचार देखाएपछि मात्र उनीहरुले विश्वास माने ।”

खाना खर्च, लत्ताकपडा बोकेर आएका उनीहरुलाई हिउँ छिचोलेर घर कसरी फर्कने भन्ने कुराले पिरोलेको उनले बताए । स्थगन परीक्षाको मारमा विकट हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र कालिकोट परीक्षार्थी परेका छन् । कर्णालीका १० जिल्लाका १७६ परीक्षा केन्द्र सबैमा फोन सम्पर्क हुनसकेको छैन । यद्यपि प्रहरी प्रशासनको संयन्त्रहरुबाट सबै परीक्षा केन्द्रमा फोन, सन्देश र सुरक्षाकर्मीको सेटबाट खबर पठाइसकिएको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् ।

प्रतिक्रिया