कास्कीमा चैत १० देखि २२ सम्म खोप अभियान
कास्की । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही चैत १० देखि २२ गतेसम्म दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले संयुक्तरूपमा अभियानका बारेमा जानकारी दिन बिहीबार आयोजित अन्तक्र्रिया कार्यक्रममा दुई चरणमा पाँच वर्षमुनिका करिब ५० हजार २६० बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी दिइयो ।
चैत १० देखि १७ गतेसम्म माछापुच्छ्रे, रुपा, अन्नपूर्ण र मादी गाउँपालिकाका वडा तथा पछिल्लो समय महानगरमा मिसिएका साविकका गाविस र चैत २० देखि २२ गतेसम्म महानगरका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
खोप अभियानमा ४२० खोपकेन्द्र तथा ६४७ जना खोपकर्ता परिचालन हुनेछन् । अभियानको क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा कार्ड वितरण गरिएको उहाँले बताए ।
प्रतिक्रिया