आजदेखि अत्यावश्यक बाहेकका सेवाहरू बन्द, भोलीदेखि लामो दूरीका सवारीमा रोक
काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले आजदेखि अत्यावश्यबाहेकका सबै सेवाहरू बन्द गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ७ चैतमा सम्बोधनमार्फत संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गर्ने घोषणा गरेका थिए ।
शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ । तर, यसबीचमा केही अत्यावश्यक सेवा भने बन्द हुने छैनन् ।
त्यस्तै सरकारले आइतबार आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु पनि स्थगित गरेको छ । यो घोषणा १८ चैतसम्म लागू गरिएको छ ।
यस्तै, भोलि, १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू संचालनमा रोक लगाइएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कहिलेसम्म रोक लगाइएको भन्ने खुलाएका छैनन् ।
प्रतिक्रिया