काठमाडौँका होटेल, स्कूल, होस्टेल र रंगशालामा तत्काल बन्ने भए ५ हजार जना राख्न मिल्ने सार्वजनिक क्वारेन्टाइन
काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । कोरोना संक्रमण नियन्त्रणको पूर्व तयारी स्वरुप तत्काल ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल बनाइन लागेको हो । त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटेल, होस्ट, स्कूल तथा रंगशालाहरुलाई उपयोग गरिने छन्
कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज बसेको पहिलो बैठकले काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अट्ने क्वारेन्टाइन स्थल बनाउने र त्यसलाई आवश्यक परेका बेला अस्थायी अस्पतालमा समेत परिणत गर्न सकिने निर्णय गरेको हो ।
बैठकले पर्यटन विभाग र नेपाल पर्यटन विभागलाई होटेल व्यवसायीहरुसँग समन्वय गरी कम्तिमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटेलको स्थानसहितको विवरण तयार गर्न निर्देशन समेत दिएको छ ।
यी दुई निकायले व्यवसायीसँगको समन्वयमा होटेलको तय गर्ने भएका छन् । प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तिमा दुई हजार क्षमताको क्वारेन्टाइन बनाउन स्थान दिनुपर्ने भएको छ ।
यी संस्थासँग भएका होस्टेल स्कूलको प्रयोग गरी क्वारेन्टाइन बनाउने निर्णय सरकारले गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टेल तथा रंगशालामा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी कार्यदललाई जानकारी गराउन निर्देशन दिइएको छ ।
यी सबै निकायबाट कूल ५ हजार क्षमताको क्वारेन्टाइन उपत्यकाभित्र तयार पार्ने निर्णय भएको हो । यसको तय भने सोमबार भित्र हुने भएको छ । सबै निकायलाई सोमबार बिहान भित्र कुन कुन स्थान र होटेललाई क्वारेन्टाइन बनाउन सकिन्छ भन्नेबारे सुझाव दिनेछन् ।
प्रतिक्रिया