शुक्रबार, असोज ५, २०८०

विश्वभर बढ्दैछ भाइरसको संक्रमण

नेपालखोज २०७६ चैत १० गते ७:१७

वाशिङ्टन डीसी । पछिल्लो समय इटली, अमेरिका लगायत देशमा कोरोना भाइरसको सङ्क्रमण हवात्तै बढेको छ । संक्रमण १ सय ५० देशमा पुगेको छ । आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन । सङ्क्रमितमध्ये ९५ हजार ८२९ जना उपचारपछि घर फर्किएका छन्न् । भाइरसको संक्रमण सर्न नदिन सरकारले चालको विविध उपायका कारण विश्वभर एक अर्ब मानिसहरु घरमै थुनिएका छन् ।

इटलीले कोरोना भाइरसको अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको छ । त्यहाँ यसबाट चार हजार ८२५ जनाको मृत्यु भइसकेको छ । वृद्ध जनसंख्या धेरै रहेकोले पनि दैनिक मृत्युदर निकै कहाली लाग्दो अवस्थामा रहेको छ । शनिबार एकै दिन ७९३ जनाको मृत्यु भएको थियो । संक्रमितको संख्या ४२ हजार ६८१ पुगेको छ ।

मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ५५६ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४१५ जना सङ्क्रमित रहेका छन । स्पेनमा भाइरसको सङ्क्रमणका कारण एक हजार ३८१ जनाको मृत्यु भएको छ । हाल २१ हजार ९९० जना सङ्क्रमित रहेका छन् । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार सङ्क्रमित रहेका छन ।

हाल अमेरिकामा २६ हजार सङ्क्रमित छन भने ३४८ जनाको मृत्यु भइसकेको छ । १२ हजार ३०० भन्दा बढी व्यक्ति सङ्क्रमित रहेको फ्रान्समा ५६२ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण स्वीजरल्याण्डमा ८० जना, बेलायतमा २३३ जना, नेदरल्याण्ड्समा १३६ जना, बेल्जियममा ६७ जना, जापानमा ३६ जना र दक्षिण कोरिया १०४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । छ जनाको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आइतबार एक दिन जनता कफ्र्यू लागू गरेका छन् भने जनतालाई घरबाहिर ननिस्कन आह्वान गरिएको छ । दक्षिण एसियाका अन्य मुलुकमा पनि संक्रमितको संख्या बढ्दो छ ।

विश्वका ३५ देशमा महामारी रोकथामका लागि लकडाउन गरिएको छ । यसका कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरू रोकिएका छन । धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् । संक्रमितको संख्या बढेसँगै अस्पतालमा सैया, स्वास्थ्य सामाग्रीको अभाव चुलिएको छ । विश्व अर्थतन्त्र सन् १९२९ यताकै खराब मन्दीको संघारमा रहेको विज्ञहरुले बताइरहेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया