शुक्रबार, माघ २५, २०८१

कोभिड १९ः मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

नेपालखोज २०७६ चैत १० गते ८:२४

पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ ।

Advertisement

सधैँजसो चहलपहल हुने गरेको यहाँको बिन्ध्यवासिनी मन्दिरमा यतिखेर अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । सो भाइरसको जोखिमको असर बिन्ध्यवासिनी मन्दिरमा पनि प्रत्यक्ष देखिएको बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

औषतमा दैनिक तीन हजार तीर्थालुले दर्शन गर्ने सो मन्दिरमा केही दिनयता फाट्टफुट्ट मात्रै दर्शनार्थी आउने गरेको उनले बताए । समितिले मन्दिरमा दैनिक पूजाआजा नरोके पनि परिसरमा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्र र गुरुकुल भने बन्द गरिसकेको छ । सो भाइरसको जोखिमलाई दृष्टिगत गर्दै पशुबलिका साथै परेवा उडाउन बन्द गरेको छ । सामुदायिक प्रहरीसमेतको सहयोगमा फूलप्रसाद बेच्ने स्थानबाट परेवा बिक्री वितरण गर्न पनि रोक लगाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

“केही दिनयता मन्दिरमा दर्शनार्थीको आगमन कम छ, जोखिमका कारण दर्शनार्थी कम भएको सम्भवतः पहिलोपटक नै होला”, उनले भने, “२०७२ सालको भूकम्पपछि लगातार गइरहेका परकम्पको प्रभावका कारण त्यो बेला पनि मन्दिरमा दर्शनार्थीको आगमन घटेको थियो ।”

प्रतिक्रिया