कोभिड–१९: पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या
डोटी । कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे पनि उक्त सङ्क्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई(पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण भएका बिरामीलाइ राख्नका लागि जिल्लामा आइसोलेशन कक्ष तथा शय्या तयारी अवस्थामा भए पनि यहाँका चिकित्सकले पिपिई सेट र एन ९५९कीटाणु पस्न नसक्ने० मास्क अहिलेसम्म पाउन सकेका छैनन् ।
पिपिई सेट र मास्क नपाउँदा चिकित्सक जोखिम मोलेरै अस्पतालमा बिरामी जाँच गर्न बाध्य भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा बबिता गजमेरले बताइन् । उनले भनिन्, “अस्पालहरुमा पिपिई सेट छैन, सङ्क्रमितको सङ्ख्या बढ्यो भने के गर्ने भन्ने समस्या छ ।”
सरकारले सबै स्वास्थ्यकर्मी सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मी पिपिई सेट नहुँदा दिनहुँ जोखिम मोल्दै काम गर्न विवश रहेको शैलेश्वरी अस्पतालका चिकित्सक आइजङ्ग कुँवरले बताए । उनले भने, “उपचार गर्ने चिकित्सक नै असुरक्षित भएपछि बिरामी कसरी सुरक्षित रहने, सबैभन्दा पहिले स्वास्थ्यकर्मीलाइ पिपिई सेट उपलब्ध गराउनु जरुरी छ ।”
सरकारले जिल्ला अस्पताल डोटीमा मात्रै जम्मा पाँच थान पिपिई उपलब्ध गराएको छ । जिल्लामा रहेका अन्य निजी क्षेत्रका अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा पिपिई सेट नभएको चोपडा अस्पताल दिपायलका निर्देशक हिक्मतसिंह चोपडाले बताए । उनले भने, “बिरामी जति सबै निजी अस्पतालमा छन्, ती अस्पतालका चिकित्सकले पिपिई सेटविना नै जाँच गरिरहेका छन्, बिरामीभन्दा पनि चिकित्सकलाइ बढी जोखिम छ ।”
प्रतिक्रिया