सोमबार, फागुन ५, २०८१

कोभिड–१९ ले अमेरिकाका नेपाली प्रभावित

नेपालखोज २०७६ चैत १३ गते ११:५१

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ । कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ । हालसम्म अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने सङ्क्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका छन् ।

Advertisement

अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा गैरआवासीय नेपाली रहेको बताइन्छ । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै अमेरिकामा रहेका धेरै नेपालीको रोजगारी गुमेको छ । खासगरी विद्यार्थी भिसामा रहेकाहरु यसबाट बढी प्रभावित भएका छन् । वैधानिकरूपमा काम गर्न नपाउने भएकाले विद्यार्थीहरु यसबाट बढी प्रभावित भएका हुन् । यो समयमा अवैधानिकरूपमा काम गर्दा समस्या हुने अड्कलबाजीले समेत विद्यार्थीहरु भएका काम पनि गर्न त्रसित देखिन्छन् । नगद कारोबार गर्न मिल्ने चिनेजानेका व्यापारी व्यवसायीका पसल तथा रेष्टुरेन्टहरुमा विद्यार्थीहरुले काम गर्ने गर्दछन् । अमेरिकाको नागरिकता प्राप्त तथा अमेरिकामा बस्न र काम गर्न अनुमति प्राप्तहरुलाई राहतस्वरूप यहाँको सङ्घीय तथा राज्य सरकारले राहत प्याकेज ल्याउने बताएको छ । निर्णय भइनसके पनि केही राहत दिने अपेक्षा गरिएको तर यो राहत कार्यक्रममा विद्यार्थी भने समावेश हुन सक्ने छैनन् ।

विद्यार्थी मात्र होइन अन्य नेपालीमा समेत यसको असर परेको छ । विभिन्न कम्पन्नीमा काम गर्ने नेपालीहरु कम्पन्नी बन्द भएका कारण कामविहिन बन्न पुगेका छन् । वार्षिक आम्दानीको आधारमा यहाँको सरकारले कम आम्दानी गर्ने सूचीमा राखेका परिवार बढी प्रभावित देखिएका छन् । कम आम्दानी गर्ने परिवारको सूचीमा रहेका व्यक्तिहरुले औसतमा प्रतिघण्टा नौदेखि १४ डलरसम्म कमाउने गरेको देखिन्छ । कामदार मात्र होइन व्यापार व्यवसायसमेत ठप्पप्रायः हुँदा यसबाट नेपाली समुदायसमेत अछुतो रहन सकेको छैन ।

अमेरिकामा व्यापार व्यवसायमा रहेका अधिकांश नेपाली ग्रोसरी स्टोर, ग्याँस स्टेशन, स्मोक सप, रेष्टुरेन्ट, श्रृङ्गार केन्द्र। नेल आर्ट पसल, होटल, सीप प्रशिक्षण (आइटी व्यवसाय) केन्द्र, घर, जग्गा तथा हाउजिङ खरीदविक्री, इन्जिनियरिङ कल्सल्टिङ, कानूनी सेवा परामर्श, वित्त सेवा परामर्श जस्ता व्यवसाय सञ्चालनमा संलग्न छन् । तीमध्ये ग्रोसरी व्यापारलाई यहाँ अत्यावश्यक व्यापारको रूपमा लिइने हुँदा यी व्यवसाय सञ्चालनमा रहेका भए पनि अन्य व्यवसाय लगभग बन्द छन् । सेवामा केन्द्रीत व्यवसायमा संलग्नहरु पनि सेवाग्राहीको अभावमा सञ्चालन हुन सकिरहेका छैनन् । होटल व्यवसाय सेवाग्राही नहुँदा बन्दप्रायः रहेको छ । कोभिड–१९ को प्रत्यक्ष असर रेष्टुरेन्ट व्यवसाय, सैलुन, ब्युटीपार्लर, नेल आर्टलगायतका व्यवसायमा लागेका नेपालीलाई परेको छ । अमेरिकामा अधिकांश राज्य तथा शहरमा नेपाली व्यवसायीले रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । न्यूयोर्कमा नेपालीको अत्यधिक रेष्टुरेन्ट रहेको छ । न्यूयोर्क कोभिड–१९ ले असर गरेको अमेरिकाको मुख्य शहर हो ।

यकिन तथ्याङ्क नभए पनि अमेरिकाका मुख्य शहरहरुमा पाँचदेखि १८ वटासम्म नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट छन् । ब्युटीपार्लर, सैलुन आदि पनि त्यस्तै सङ्ख्यामा छन् । लामो समयदेखि अमेरिकामा व्यवसायमा संलग्न गैरआवासीय नेपाली सङ्घका उत्तर अमेरिका क्षेत्रमा उपक्षेत्रीय संयोजकसमेत रहेका राम सी पोखरेलले भने, “रेष्टुरेन्टहरु लगभग बन्द छन् । नेल आर्ट, ब्युटीपार्लर, स्मोक सप, सैलुनलगायतका व्यवसाय पनि बन्द छ, यसले धेरै नेपाली प्रभावित भएका छन् ।”

प्रतिक्रिया