सोमबार, माघ २८, २०८१

कोभिड-१९ : चीनमा फेरि संक्रमण

नेपालखोज २०७६ चैत १४ गते ६:४२

बेइजिङ । बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ।

Advertisement

मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन्। नयाँ आयातित केसहरू थपिँदा चिन्ताको विषय बनेको हो। यो सँगै विदेशबाट आएका संक्रमितहरुको कुल संख्या ४२७ पुगेको छ।

यस्ता आयातित केसहरू बेइजिङ, साङहाइ, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन्। सबैभन्दा बढी बेइजिङमा छन्। सोमबार देखिएका ७४ केसमध्ये ३१ वटा यहीं थियो। बेइजिङको स्वास्थ्य समितिका अनुसार, सोमबारसम्म बेइजिङमा यस्ता आयातित केसको संख्या १३८ पुगेका छन्।

पछिल्लो अवस्थामा यी आयातित कोरोनाभाइरस सङ्क्रमणले चीनलाई चिन्तित बनाएको छ। सोमबार आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ। योसँगै बेइजिङले बुधबारबाटै बेइजिङ प्रवेश गर्ने सबैको अनिवार्य न्यूक्लिक एसिड टेस्ट गर्ने जनाएको छ। यसअघि ज्वरो आएको अवस्था र केही लक्षण देखिएको खण्डमा परीक्षण गरिँदै आएको थियो। यसै गरी गत शुक्रबारदेखि बेइजिङका लागि उडेका विमानहरूलाई अन्य सहरमा अवतरण गराइ त्यतै जाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको छ। त्यसअघि मार्च १६ सोमबारबाट बेइजिङ उत्रेका सबैले स्वखर्चमा तोकिएको स्थानमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया